चमत्कार

चाँदिरा पाण्डे
विद्यालयको चउरमा सानीया कुनामा एक्लै बसिरहेकी थिइन् । चउरको वातावरण रमाइलो थियो । उनका साथीहरु ज्यास्मिन, मिना, र टिना खुशीसाथ खेलिरहेका थिए । उनीहरुको रमाइलो र हाँसोले चउरको माहोललाई अझ रमाइलो बनाएको थियो तर सानीया भने त्यहाँ एक्लै र चिन्तित भएर बसिरहेकी थिइन् । साथीहरुको हाँसो र खेलकुदको आवाजले उनलाई असहजता महसुस गरायो । एकातिर साथीहरु आफ्नो चञ्चलतामा रमाइरहका थिए भने अर्कोतिर सानीया आफ्नो मनमा चलेका कुराहरु साथीहरुमाझ खुलाउन चाहिरहेकी थिइन् ।
उनका साथीहरु ज्यास्मिन, मीना र टीना एक अर्कासँग मजाले खेलिरहेका थिए । उनीहरुको रमाइलो आवाजले सानीया थोरै समयको लागि उनीहरुको नजिक जान चाहिन् । उनी डराइ डराइ तिनीहरुका नजिक पुगिन् । यो देखेर ज्यास्मिन र टिनाले सानीयालाई हेर्दै भने, “हा हा, हेर त साथीहरु, यो सानीया सधैँ एक्लै बस्छे । उसको त कोही साथी पनि छैन ।”
ज्यास्मिनले भनिन्,“हो, नि यो त सधैँ एक्लै हुन्छे, एकलकाँटे जस्तो ।” टीनाले सहमति जनाइन् ।
सानीया एकदमै चुपचाप बसिन् । उनलाई चोट पुर्याउने ती शब्दहरुले कति गहिरो चोट पारिरहेको थियो । त्यो उनी आफैँलाई मात्र थाहा थियो ।
सानीया चुपचाप बसेर सोचिरहिन्, “जब मलाई साथीहरुको आवश्यकता हुन्छ त्यो बेला त म किन एक्लै हुन्छु ? मसँग किन कोही पनि बोल्न नचाहेका होलान् ?” उनको मनमा गहिरो दुःख थियो । त्यहाँ चउरमा साथीहरुको हाँसो र रमाइलो माहोलले सानीयालाई असहज बनाएको थियो । अझै पनि, उनी सबसँग घुलमिल गर्न चाहन्थिन् तर हरेक प्रयास असफल भइरहे ।
सानीया हृदयमा गहिरो चोट लिएर निराश हुँदै खाना खान गइन् । त्यहाँ पनि उनका साथीहरुले उनलाई चिढ्याउन गएका थिए । “तिम्रो खाना त कस्तो नमिठो होला जस्तो छ । छ्या ⁄ यस्तो खाना कसरी रुचेको होला ?” ज्यास्मिनले भनिन् । यस चिढ्याइले सानीयाको मनलाई थप दुःखी बनायो । उनी आँखामा आँसु बोकेर चुपचाप खाना खाइरहेकी थिइन्।
यसरी सानीया दैनिक रुपमा मानसिक र भावनात्मक चोटहरु झेल्दै थिइन् । ती साथीहरुको चिढ्याइ र हेपाइले सानीयालाई अत्यधिक थकित बनाएको थियो । उनको दिमागमा कहिलेकाहीँ विचार आउँथ्यो, “म किन यस्तो अभागी भएँ । किन मलाई कसैले पनि मन पराउँदैनन् ?”
विद्यालय सकिएपछि सानीया घर फर्किन् र आमासँग आफ्नो दुःखका बारेमा कुरा गरिन् । “आमा, म केही बुझ्न सक्दिनँ । मलाई साथीहरुले सधैँ हेप्छन् । कोही पनि मसँग राम्रोसँग बोल्दैनन् । मैले कुनै बेला पनि मनपर्ने साथी भेटिनँ ।”
आमाले सानीयालाई माया गर्दै सम्झाउनुभयो “सानीया, जीवन भनेको सङ्घर्षको यात्रा हो । जब सङ्घर्ष आउँछ, त्यो समयले तिमीलाई अझ बलियो बनाउँछ । सानो कुरामा यसरी निराश भएर बस्नु हुँदैन । सबैसँग राम्रो व्यवहार गर्नुपर्छ । एकदिन सबै साथीहरु तिमीसँग बोल्न आउनेछन् । यो धैर्यताले एक दिन तिमीलाई बलियो र सबल बनाउनेछ ।”
सानीयाले आमाको कुरा सुनेर केही राहत महसुस गरिन् । ती शब्दहरुले उनलाई हिम्मत दिएको थियो । अर्को दिन सानीया विद्यालय जान तयार भइन् । यसपटक उनी मनमा उत्साह बोकेर गइन् । उनले सोचिन्, “अब मैले यस्ता सानातिना कुरामा ध्यान दिनु हुँदैन । पढाइमा मन लगाउनुपर्छ । म आफ्नो मार्ग आफूले नै तय गर्छु ।”
अर्को दिन जब सानीया विद्यालय पुगिन्, ज्यास्मिन र टीनाले उनलाई फेरि चिढ्याउन थाले । “सानीया, तिम्रो आमाको गाडी कत्ति पुरानो हो ? नयाँ किन्नु भन न ।” ज्यास्मिनले हाँस्दै टद्द इम्पेरियल वल्र्ड स्कुल भनिन् । यसपटक सानीयालाई निकै रिस उठ्यो । उनले रिसाउँदैे प्रतिक्रिया दिइन्, “के म केही कुरा गर्न सक्दिन भनेर तिमीहरुले हेपेको ? मैले तिमीहरुको के बिगारेकी छु र ?”
ज्यास्मिन केही नबोली चुपचाप बसी । टीनाले हरेक कुरामा गिज्याएर ताली बजाउँदै थिई । सानीया उनीहरुको कुरामा ध्यानै नदिए जस्तो गरेर चुप लागेर बसिरहेकी थिइन् । उनले सोचिन् कि उनीहरुका कुरालाई सुनेर यसलाई महत्त्व दिनैपर्छ भन्ने केही छैन । आफ्नो काममा अगाडि बढ्नुपर्छ ।
समय बित्दै गयो । सानीया निरन्तर सङ्घर्ष गर्दै थिइन् । उनले आफ्नो अध्ययनमा धेरै ध्यान दिन थालिन् । उनले परीक्षामा पनि राम्रो अङ्क ल्याइन् । समय साथसाथै सानीयाको आत्मविश्वास बढ्दै गयो । उनले आफैँलाई चुनौती दिइन्, “म अब अरुको नचाहिँदो कुराको पछाडि कहिल्यै लाग्दिन । आफ्नै मेहनतमा अघि बढ्नेछु ।”
सानीयाले विद्यालय स्तरको परीक्षामा उत्कृष्ट अङ्क ल्याएर पास भइन् । उनले विद्यालयमा मात्र नभइ जिल्लामै सबैभन्दा धेरै अङ्क ल्याएकी थिइन् । उनलाई त्यस जिल्लाका प्रमूखले उच्च रुपमा सम्मान गरे । उनलाई कलेजमा समेत पूर्ण छात्रवृत्ति दिइयो । यसै क्रममा उनले आफ्नो पुरानो साथी सारासित भेट गरिन् ।
“सानीया तिमीलाई कस्तो छ ? तिम्रो नयाँ कलेज कस्तो भइरहेको छ ?” साराले सोधिन् ।
सानीया केही बेर चुप लागेर भनिन्, “सुरुमा कठिन थियो । तर अहिले त सबै ठिक छ । अलिअलि समस्या भैहाल्छ नि ।”
”साराले भनिन्, “तिम्रो यो साहस देखेर म गर्व गर्छु सानीया ।” त्यसपछि उनी आफ्नो लक्ष्यमा स्थिर रही कलेजको पढाइमा ध्यान दिन थालिन् ।
सानीयाले आफ्नो जीवनको उद्देश्यलाई थप प्रस्ट बनाइन् । उनले आफ्नो सपनाहरुलाई पूरा गर्नका लागि व्यवसाय खोल्ने निर्णय गरिन् । त्यसको लागि उनले ठोस योजनाहरु बनाइन् र राम्रोसँग तयारी गरिन् । व्यवसाय सुरु गर्दा उनीसँग केही पुराना साथीहरु थिए जसले उनलाई समर्थन गरेका थिए । उनीहरुको सहयोगले सानीया अझ बलियो बनिन् । उनीहरुको प्रभाव सानीयाको जीवनमा राम्रोसँग परेको थियो ।
सानीया आफ्नो मेहनतले आफ्नै व्यवसायको मालिक बन्न पुगिन् । एकदिन, ज्यास्मिन काम खोज्दै सानीयाको कम्पनीमा आइन् । उनलाई त्यो कम्पनी सानीयाको हो भनेर थाहा थिएन । जब उनले त्यहाँ सानीयालाई देखिन्, उनलाई अचम्म लाग्यो । “सानीया ⁄ तिमी यहाँ के गर्दै छौ? ज्यास्मिनले चकित हुँदै सोधिन् ।”
सानीयाले गर्वका साथ भनिन्, “म यो व्यवसायको मालिक हुँ । तिमी के कामले यहाँ आएकी ?”
ज्यास्मिनले सानीयालाई विद्यालयमा आफूले तथा अन्य साथीहरुले गरेको व्यवहार सम्झिइन् । उनलाई आज आएर निकै पछुतो लाग्यो । उनलाई सानीयासँग बोल्न पनि असजिलो लागिरहेको थियो । सानीयाले यो कुरा राम्रोसँग बुझिन् । उनले सानीयालाई भनिन्, “ज्यास्मिन पहिले गरेका गल्तीहरु सम्झिएर बस्नु हुँदैन । मैले तिमीलाई अवश्य मौका दिनेछु तर तिमीले इमान्दार भएर काम गर्नुपर्नेछ ।”
ज्यास्मिनको शिर निहुरिएको थियो । “के म यो अवसरको लागि तयार छु ? उनले सोधिन् ।” सानीयाले दृढता र सहनशीलता देखाएर भनिन्, “म तिमीलाई मौका दिन्छु, तिमीले पनि आफूलाई सुधार गर्नुपर्छ ।” ज्यास्मिन म पछि खबर गर्छु है भनेर घर गइन् ।
एक महिनापछि, ज्यास्मिनले सानीयालाई फोन गरेर भनिन्, “सानीया ⁄ मैले धेरै सोचेँ, अब म तिमीसँग काम गर्न चाहन्छु । म तिमीले जे भन्छौ त्यही गर्छु ।”
सानीया र ज्यास्मिनले नयाँ दृष्टिकोणका साथ व्यवसायमा एकसाथ काम गर्न थाले । उनीहरुले एक अर्कालाई सहयोग गरेर नयाँ लक्ष्यहरु तय गरे । समयसँगै, सानीया र ज्यास्मिनको मित्रता पनि गहिरो भयो ।
आज सानीया सफल व्यवसायी बनेकी छिन् । उनले सङ्घर्ष र सहिष्णुताका साथ आफ्नो जीवनमा सकारात्मक परिवर्तन ल्याइन् । उनले साबित गरिन् कि कठिनाइ र समस्याहरुबाटै जीवनमा सफलता आउन सक्छ । उनको सङ्घर्ष, साहस, र हिम्मतको कथा सबैको लागि प्रेरणा बनेर रह्यो ।