Skip to main content

सङ्घर्ष

आरुषी दवाडी

कक्षा : नौ (गण्डकी)

सुदुर पश्चिममा एउटा सानो गाउँ थियो । यो दुर्गम ठाउँको गाउँ भएको हुनाले विकासका कामहरु केही भएका थिएनन् । त्यहाँका मानिसहरु एक आपसमा अत्यन्त मिलेर बस्दथे । एक अर्कालाई आफ्नै परिवारलाई जस्तै व्यवहार गर्थे र धेरै घनिष्ठ थिए । उनीहरुले हरेक कठिन परिस्थितिमा एकअर्कालाई सहयोग गर्थे ।

यस गाउँमा एउटा सानो सरकारी विद्यालय थियो, जहाँ बाह्र कक्षासम्म मात्र पढाइ हुन्थ्यो तर पनि निकै कम विद्यार्थीहरु मात्र पढ्दथे । तीमध्ये केही विद्यार्थी बाह्र पास गरेपछि गाउँमा नै बस्थे । कोही उच्च शिक्षाका लागि काठमाडौ सहर जान्थे भने कोही चाहिँ उच्च शिक्षा हासिल गर्न ।

बिदेसिन्थे । कोही पैसा कमाई आफ्नो जीवनस्तर सुधार्न विदेसिन्थे । कहिलेकाहीँ गाउँ आए पनि परिवार भेटेर फर्किन्थे । त्यस गाउँको विकासको बारेमा कसैले सोच्दैनथे ।

सोही गाउँमा एउटा परिवार थियो । त्यो परिवारमा बुवाआमा र रवि नाम गरेका छोरो थिए । ऊ बाह्र कक्षामा पढ्दै थियो । ऊ धेरै ज्ञानी, कुशल र पढाइमा पनि राम्रो थियो । उसको गाउँका साथीहरुको भन्दा उसको सोच फरक किसिमको थियो । ऊ पढाइ र आफ्नो भविष्यलाई सधैं गम्भीर रूपमा लिन्थ्यो । उसले आफ्नो स्कुलको पाठ्यपुस्तकमा देशको विकासका लागि सरकारले सक्दो प्रयास गरिरहेको छ भन्ने कुराहरु पढेको थियो र गुरुहरुले पनि त्यस्तै पढाउनुभएको थियो तर उसका अभिभावक र आफन्तहरुको भने सरकारप्रतिको दृष्टिकोण र धारणा एकदमै फरक थियो ।

उनीहरु सरकारले आफ्नो गाउँको विकास गर्न केही पनि सहयोग नगरेको, जसका कारणले गाउँको जीवन कष्टकर भएको भन्ने सोच्थे । सरकार भ्रष्टाचारमा लिप्त भएको हुनाले गाउँ विकास नभएको भन्ने उनीहरु सोच्थे । बिचरा! रवि आफ्ना आमाबुवा र आफन्तलाई विश्वास गर्न सक्दैनथ्यो । पाठ्यपुस्तकमा झुटो कुरा लेखिनु असम्भव छ भन्ने रविको विचार थियो ।

केही वर्ष बित्यो । रविले बाह्र कक्षा पास गर्यो । गाउँको हालत र बाबुआमाको सोच अझै उस्तै थियो, आशाहीन । रवि अझै पनि आफ्ना गुरुहरु र पाठ्यपुस्तकमा विश्वास गथ्र्यो । उसले बुबाआमालाई उच्च शिक्षा हासिल गर्न काठमाडाँैं जानको लागि अनुमति माग्यो तर उनीहरुले मानेनन् । उनीहरुलाई एउटा मात्र छोरो विदेश पलायन होला कि भन्ने चिन्ता थियो । महिनौंसम्म बिन्ती गरेपछि अन्ततः उसका आमाबुवाले मुटुमाथि ढुङ्गाा राखी रविको खुसीको लागि काठमाडौं जान दिन अनुमति दिए ।

रवि व्यस्त सहर काठमाडौं पुग्यो । उसका लागि काठमाडौँ नौलो र अकल्पनीय थियो । उसले बिस्तारै त्यहाँ बस्ने र पढ्ने वातावरण मिलायो । उसले कृषिसम्बन्धी उच्च शिक्षा हासिल गर्नै विचार गर्यो । उसले सहरलाई चिन्दै गएपछि ग्रामीण विकास सम्बन्धी तालिम पनि लियो । पढाइ, काम र तालिम सँगसँगै साथीहरुसँग मिलेर ग्रामीण विकासका योजनाहरु पनि तयार पार्न थाल्यो । उसको कडा मिहिनेत र परिश्रमका कारण पढाइ सक्दा साथीहरुको सहयोगमा आफ्नो एउटा “ग्रामीण विकास योजना” भन्ने संस्था पनि खोल्यो र गाउँमा गएर विकासका परियोजना सञ्चालनको लागि पैसा बचत गर्न थाल्यो ।

यो परियोजना सञ्चालन गर्न रविले धेरै मानिसहरुलाई एकताबद्ध गर्यो, जसलाई उसको धारणा र दृष्टिकोण मनपथ्र्यो । उनीहरुले रविको परियोजनामा सहयोग गरे । पाँच वर्षपछि रविले खोलेको संस्थाले गाउँ गाउँमामा मानिसहरुलाई मदत गर्न जोड दियो र सरकारले प्रदान गर्ने साना विकास वा अवसरहरुमा पुग्न धेरै मदत गर्यो ।

उता घरमा रविको परिवार चिन्तित र धेरै दुःखी थियो किनकि रवि सहर गएदेखि कहिल्यै फर्केर गाउँ आएको थिएन । गाउँमा रविका आमाबाबु छरछिमेकीहरुसँग आफ्नो छोरा पनि अरु जस्तै विदेश पलायन भयो कि भनेर चिन्ता पोखिरहेका थिए ।

त्यतिबेला नै रवि आफ्ना आमाबुवा भएको ठाउँ वा आफ्नै गाउँ टुप्लुक्क आइपुग्यो । आफ्नो प्यारो छोरालाई देखेर उसका बुबाआमाले खुसीका आँशु झारे । उनीहरुले रविको हालखबर सोधे । यतिका वर्ष फर्किएर नआउनुको कारण पनि सोधे । रविले उनीहरुलाई आफू ठीक भएको र अब गाउँमा नै बसेर गाउँको विकास गर्ने कुरा बतायो ।

केही दिनपछि रविले आफ्नो गाउँमा आफ्नो संस्थाको शाखा खोलेर काम सुरु गर्न थाल्यो । उसका केही साथीहरुले पनि सहयोग गरे । उसको परियोजना अन्ततः सम्पन्न भयो । रविका आमाबाबुले आफ्नो छोरा यति विचारशील र साहसी भएको देखेर धेरै खुसी भए र छोराप्रति गर्वको महसुस गरे । रविले गाउँमा सबैको सहयोगमा कृषि परियोजना, हस्तकला, साना तथा घरेलु व्यवसाय सञ्चालन गर्यो । अन्ततः उक्त गाउँ विकासको उद्धाहरण बन्यो । जसले गर्दा युवाहरुको विदेश पलायन हुने क्रम घट्दै गयो ।

केही वर्ष पछि, रविको संस्थाले देशको लगभग हरेक गाउँको कुना कुनामा आफ्नो संस्थाको शाखा खोल्दै उचित शिक्षा प्रदान गर्दै युवाहरुलाई कामको अवसर प्रदान गर्न थाल्यो । पछि गएर रवि एक सफल व्यक्तिको रूपमा चिनियो छ । ऊ आफ्नो कार्यको लागि सरकारबाट पुरस्कृत पनि भयो अनि उसको सस्थाले सरकारबाट पनि धेरै अनुदान पायो । यस संस्थाले देशको सबै ग्रामीण भागहरुमा विकास गर्न मदत गर्यो । यसरी रविको प्रयासले देश विकासमा महत्वपूर्ण भूमिका खेल्यो ।

Imperial World School
A Disaster Prepared School
Safe Haven for Children