अँध्यारो कोठा

दिव्यज्योती पाल
नेपालको पश्चिमी भेगमा पर्ने मुगु जिल्लाको एउटा सानो गाउँमा गौँथली नामकी केटी थिई । ऊ भर्खरै तेह्र वर्ष पुगेकी थिई । ऊ आफ्ना आमाबुबा र सानो भाइसँग बस्थी । ऊ जहिल्यै बिहान आफ्नी आँमासँगै उठेर घाँसदाउरा काट्न बाहिर वनतिर लाग्थी र घर पुगिसकेपछि आफ्नो भाइलाई विद्यालय जान उठाउँथी ।
गौँथली बस्ने गाँउमा केटीहरुलाई शिक्षा दिने चलन थिएन । त्यसैले आफ्नो भाइको कापीकिताब देख्दा ऊ पनि सोच्थी “म पनि केटो भएर जन्मेको भए हुन्थ्यो” अनि आफ्नो भाग्यलाई दोष दिन्थी ।
गौँथलीकी आमा हरेक महिना पाँच सात दिनको लागि घरबाट बाहिर जानुहुन्थ्यो । त्यो बेला गौँथलीले घरको सबै काम गर्नुपथ्र्यो ।
“आमा ! तपाईँ किन हरेक महिना पाँच सात दिनको लागि घरबाट बिहिर जानुहुन्छ ?” गौँथलीले एक दिन जिज्ञासु हुँदै सोधी ।
“छोरी ! हरेक महिना हामी पाँच सात दिनको लागि अछुत हुन्छौँ । हामी हाम्रो घरमा बस्यौँ भने देवता रिसाउनुहुन्छ । त्यसैले म हरेक महिना पाँच सात दिनको लागि छाउगोठ भन्ने एउटा सानो गोठमा बस्छु । कहिलेकाहीँ अरू महिलाहरु पनि हुन्छन् । एक दिन तिमी पनि यस्तै भएर छाउगोठमा बस्नुपर्छ ।” गौँथलीकी आमाले उसलाई सम्झाउनुभयो ।
एक दिन सधैँजस्तै गौँथली उठी । उसलाई असजिलो भयो । उसले आफू सुतेको ओछ्यान हेरी । ओछ्यान त रगतैरगतले लत्पतिएको थियो । गौँथली डराएर उसकी आमालाई चिच्याउदै बोलाई । “आमा ! आमा ! यता आउनुस् न । हेर्नुस् न मलाई के भयो । आमा ! आमा !” । उसकी आमा दौडिँदै आउनुभयो अनि अगाडिको दृश्य देख्दा उहाँ छक्क पर्नुभयो ।
“छोरी, तिमीलाई मैले अस्ती भर्खरै छाउगोठको बारेमा भनेकी थिएँ नि । याद छ ? अब तिमी पनि पाँच, सात दिनका लागि त्यसै बस्नुपर्छ ।” आमाले भन्नुभयो । गौँथली केही पनि नसोचिकन आफ्नी आमासँग छाउगोठतिर गई । छाउगोठ अत्यन्तै सानो र फोहोर थियो । गौँथलीलाई छाउगोठको अवस्था फिटिक्कै मनपरेको थिएन । ऊ केही नभनीकन छाउगोठभित्र पसी । साउनको महिना पानी धेरै परिरहेको थियो । त्यस्तो सानो गोठमा तेह्र वर्षकी गौँथली कुनै पनि स्वास्थ्य चेतनाबिना कसरी बस्न सकी होला ?
एक दिन ठूलो पानी परिरहेको थियो । गौँथलीको महिनावारीको छैटौँ दिन थियो । त्यो दिन गौँथली ठूलो आवाजले कराई, “आमा ! बाबा ! यता पानी भरिइसकेको छ । मलाई धेरै जाडो भइरहेको छ । आमा ! आमा !” गाँउभरि सबैले त्यो आवाज सुनिरहेका थिए तर कोही पनि उसलाई मदत गर्न गएनन् ।
छोरीको पीडा सुन्दा उसकी आमालाई धेरै नराम्रो लागिरहेको थियो । केही पनि नसोचिकन गौँथलीकी आमा एउटा सिरक उठाएर छाउगोठतर्फ लाग्नुभयो । छाउगोठ पुगिसकेपछि आमाले गौँथलीको नाम पुकार्नुभयो, “छोरी ! छोरी ! छोरी ! मैले तिम्रो लागि न्यानो सिरक ल्याइदेकी छु । छोरी ! गौँथली । गौँथलीले केही जवाफ नदिएपछि आमाले छाउगोठभित्र थोरै निहुरिएर हेर्नुभयो । गौँथलीको अवस्था देखेर आमा चिच्याउनुभयो ।
तेह्र वर्षकी गौँथली जसले संसारै राम्रोसँग देखेकी समेत थिइन । त्यो सानो गोठको चिसो भुईँमा सर्पले टोकेर ऊ लडिरहेकी थिई । ऊ चिच्याई, तड्पीई तर धार्मिक परम्परागत मान्यताले गर्दा उसलाई कसैले मदत गरेन ।
गौँथलीले संसार छोडी । उसको परिवारको मानसिक अवस्था धेरै नराम्रो भएको थियो । नराम्रो पनि किन नहोस् ? घरकी एक्ली छोरीको स्वर्गबास भएको थियो । गाँउका अरू थुप्रै केटीहरु पनि त्यही छाउगोठमा बितेका थिए ।
मीना गौँथलीको रगतको नाता नभए पनि उसको गाउँकी मिल्ने दिदी थिइन् । उनले सहरमा यो खबर सुनिन् । यो कुरा सुनेर उनी रिसले रातोपिरो भइन् । उनी यो खबर सुन्नासाथ सहरबाट तुरुन्तै गाउँ फर्केर सिधै गौँथलीको घर गइन् । गौँथलीको घर पुग्दा मीनालाई गौँथलीले पाँच वर्ष अगाडि भनेको कुरा याद आयो । गौँथलीले भनेकी थिई, “मीना दिदी ! हामी केटी भएर किन जन्मियौँ ?
यस्तो कुरा सुनेपछि मीनाले भनेकी थिइन्, “किन र गौँथली ? केटी भएर जन्मिनुमा के नराम्रो छ र ?
गौँथलीले “मलाई पनि सानुलेजस्तै पढ्न मन छ । आज बाबालाई सोध्दा “तिमी केटी हौ । त्यसैले तिमीले पढ्नु पर्दैन भन्नुभयो” भनेकी थिई ।
मीनाले भनेकी थिइन्, “म एकदिन सहर गएर जागिर पाएपछि तिमीलाई पनि त्यतै बोलाएर पढाउँछु अनि तिमी चाहिँ गाउँ फर्केर अरु केटीहरुलाई पढाउ हस् !”
दुबै जना हाँस्दै गफ गर्दै बसेका थिए । मीनालाई गौँथली र आफू त्यसरी गफ गरेको याद आयो । उनका आँखा रसाए । उनी उठ्न नसकेर जमिनमा ढलिन् ।
गौँथलीको घर पुगेर मीनाले ढोका ढक्ढक्याइन् । ढोका गौँथलीको बुबाले खोल्नुभयो । गौँथलीका बुबा निराश हुनुहुन्थ्यो । मीनालाई देख्नासाथ उहाँका आँखा रसाए । उहाँले भन्नुभयो, “हामी त बर्बाद भयौँ नानी । गौँथलीले हामीलाई छोडेर गई । यो सबै हाम्रै गल्तीका कारण भएको हो । अब पछुताउनु बाहेक केही छैन ।”
बुबाको कुरा सुनेर उनी अचानक भुइँमा बसेर रुन थालिन् । गौँथलीका बुबाले मीनालाई पानी पिलाउनुभयो । गौँथलीका आमा बुबाले मीनाका सामू आफ्नो दुःख पोख्नुभयो र गाँउमा भएका यस्ता अन्य घटनाहरु सुनाउनुभयो । मीना पत्रकार थिइन् । उनलाई यी सबै घटना सुन्दा धेरै नराम्रो लाग्यो । उनले अबदेखि यो गाँउमा यस्ता घटनाहरु घट्ने छैनन् भन्ने बाचा गरिन् ।
उनले जुरुक्क उठेर गौँथलीका आमाबुबालाई भनिन्, गौँथलीलाई पढ्न धेरै मन थियो । गौँथली र यस गाँउका अन्य केटीहरुको मृत्युको कारण शिक्षाको अभाव हो । उनीहरुको मात्र होइन सबैभन्दा ठुलो दोष त यो गाँउका मानिसहरुको हो । जसले छाउपडी जस्तो अन्धविश्वासलाई धार्मिक परम्परा मानेका छन् । यो गाँउको विद्यालयले पनि यसका बारेमा उचित शिक्षा दिन सकेको छैन । त्यसैले यो गाउँमा अब अन्य केटीहरुलाई बचाउनका लागि पनि महिनावारीको बारेमा सचेतना फैलाउनुपर्छ । यसका लागि तपाइँहरु सहमत हुनुहुन्छ कि हुनुहुन्न ?
गौँथलीकी आमाले भन्नुभयो, “म सहमत छु नानी ।
“म पनि सहमत छु ।” बुबाले भन्नुभयो ।
दुबै जना सहमत भएको सुनेर मीना खुसी भइन् । उनले मुस्कुराउँदै बुबाआमालाई धन्यवाद दिइन् । अर्को दिनदेखि मीनाको योजना सुरु भयो । उनी घरघरमा महिनावारी पाप होइन बरु यो त प्राकृतिक चक्र हो, जसले सृष्टी चलाउँछ भन्ने शिक्षा दिन जान्थिन् तर महिनावारी शब्द सुन्नासाथ सबैजनाले आफ्नो ढोका बन्द गर्थे । जुन घरमा यसैका कारण छोरी गुमाएका थिए ती घरका मानिसहरु मात्र उनको कुरा सुन्थे र सहमति जनाउँथे ।
मीना निराश भइन् । हार मान्दै उनी सहर फर्किन् । अर्को दिन बिहानै गौँथलीका बुबाको फोन आयो । “नानी ! गाँउका जो जो मान्छे तिम्रो कुरारामा सहमत थिए, उनीहरु छाउपडीको विरुद्धमा आन्दोलन गर्ने विचारमा छन् तर मान्छे पुगेको छैन ।” भन्नुभयो ।
मीनाले सोचविचार पुर्याएर भनिन्, “आन्दोलन गरेर मात्रै केही फाइदा हुँदैन । हामीले जहिलेसम्म उनीहरुको विचार बदल्न सक्दैनौँ त्येतिबेलासम्म आन्दोलनले पनि केही हुनेवाला छैन बुबा ।”
“त्यसो भए के गर्ने त नानी ?” निराश हुँदै बुबाले सोध्नुभयो ।
“ठिकै छ बुबा म एउटा योजना बनाउँछु । म मेरा साथीहरु लिएर तपाईँको घरमा पाहुना बनेर आउँछौँ । हामी हजुरको घरमा एक महिनाको लागि बस्छौँ । केही कोसिस गरेर हेरौँ । केही भइहाल्छ कि ?” मीनाले भनिन् ।
उनीहरु गाउँ फर्किएर आफ्नो योजनाअनुसार काम सुरु गरे । मीना चाँडै गाउँका महिलाहरुसँग घुलमिल भइन् । उनले गाउँमा बस्दा धेरै कुराहरु थाहा पाइन् । गाँउका केटीहरुलाई आफ्नो अवस्था सामान्य लाग्थ्यो । यो सुन्दा मीनालाई झन नराम्रो लाग्थ्यो । एक महिना बितिसकेपछि गौँथलीका बुबाले गाउँलेहरुलाई भेला गराए ।
मीनाले गाउँलेका अगाडि आफ्नी साथी महिनावारी भएकी छिन् तर उनी छाउगोठमा होइन घरमै बस्ने कुरा बताइन् ।
गाँउलेहरुले उनको कुरा सुन्नै मानेनन् । त्यसो गरे गौँथलीका आमाबुबालाई गाउँका कुनै पनि काममा समेल नगराउने कुरा गरे । मीनाले हार मानेर सहर फर्किने योजना बनाइन् । उनका लागि यो गाउँमा अन्तिम दिनको बसाइ थियो । उनले राति सुत्न जाँदा गौँथलीको तस्विर हेरिन् । उनी निदाएपछि सपनामा अचानक गौँथली आई ।
गाँउलेहरुले उनको कुरा सुन्नै मानेनन् । त्यसो गरे गौँथलीका आमाबुबालाई गाउँका कुनै पनि काममा समेल नगराउने कुरा गरे । मीनाले हार मानेर सहर फर्किने योजना बनाइन् । उनका लागि यो गाउँमा अन्तिम दिनको बसाइ थियो । उनले राति सुत्न जाँदा गौँथलीको तस्विर हेरिन् । उनी निदाएपछि सपनामा अचानक गौँथली आई ।
गौँथलीले रुँदै भनी, “दिदी ! तपाईं यसरी गाउँ छोडेर नजानुहोस् । यो गाउँको भविष्य अब हजुरको हातमा छ । मेरो आत्माको शान्तिको लागि र अरू केटीहरुको लागि यो गाउँलाई बचाउनुहोस् । मैले जुन पीडा भोगेँ, त्यो पीडा अरू केटीहरुले भोग्न नपरोस् ।”
मीना झटपट उठिन् । यो सपनाले गर्दा अब उनले जहिलेसम्म यो परम्परालाई बदल्न सक्दिनन् त्यति बेलासम्म यो गाँउमा बस्ने निर्णय गरिन् । उनी रातभरि एउटा योजना बनाउँदै बसिन् ।
बिहान उठेर मीनाले आफ्नो योजना गौँथलीको परिवारलाई सुनाइन् । उनीहरु उनको विचारमा सहमत भए । सबै सदस्य उनको योजनाबाट एक्दमै खुसी भए । उनले आफ्ना साथीलाई सहर गएर केही सामानहरु पठाइदिन भनिन् । तीन चार दिनपछि मीनाले मगाएको सामान सहरबाट आयो । उनले सबै गाँउलेहरुलाई भेला पारेर आफूले गरेको गलत निर्णयका लागि माफी मागिन् र उनलाई त्यो कुराको पश्चताप भएका कारण गाउँलेहरुलाई एउटा सिनेमा देखाउने योजना रहेको बताइन् ।
गाउँलेहरु पनि सिनेमा हेर्न उत्साहित भए । एउटा ठुलो प्रोजेक्टर जोडियो । सिनेमा सुरु भयो अनि गाँउलेहरु पनि खुसी भएर सिनेमा हेर्न थाले । त्यो सिनेमा महिनावारीको बारेमा छ भन्ने कुरा कसैलाई थाहा थिएन । सिनेमा हेरिसकेपछि गाँउलेहरुले आफ्नो गल्ती स्वीकार गरे । महिनावारी पाप होइन भन्ने कुरा गाउँलेहरुलाई सिनेमाले छर्लङ्ग पारिदियो । गाँउलेहले आफ्नो आँखा खोलिदिएकामा मीनालाई धन्यवाद दिए । त्यही दिन गाउँलेहरु मिलेर सबै छाउगोठ भत्काए ।
बिहानै मीनालाई छोड्न सबै गाँउलेहरु खादा बोकेर आए । मीना बसमा चढेर झ्यालबाट बाहिर हेर्दा गाँउलेहरुको भिडमा गौँथली र अरू केटीहरुले उनलाई धन्यवाद दिएको देखिन् । उनले पनि आफ्नो आँखाको आँसु पुछ्दै सबैजनासँग बिदा मागिन् ।